Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको फोरजी सेवाको पहुँच सबै जिल्लामा

टेलिकमको फोरजी सेवाको पहुँच सबै जिल्लामा


काठमाडौं ।
नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच मुलुकका ७७ वटै जिल्लामा पुगेको छ । हाल कम्पनीको फोरजी सेवा १ हजार ८ सय मेगाहर्ज (ब्याण्ड ३) र ८ सय मेगाहर्ज (ब्याण्ड २०) मा उपलब्ध रहेको छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८ सय मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १ हजार ८ सय मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ । फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्याण्डको फैलावट क्षेत्रबाट अर्को ब्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८ सय मेगाहर्ज र १ हजार ८ सय मेगाहर्ज दुवै ब्याण्ड उपयोग गर्नसक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।

नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १ हजार ८ सय मेगाहर्ज ब्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउनसक्ने भए पनि केही मोबाइल सेटले ८ सय मेगाहर्ज ब्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ । दुवै ब्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।

यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । साथै मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सनभित्र टुजी वन्ली/थ्रीजी वन्ली/थ्रीजी–टुजी (अटो कनेक्ट)/एलटिई–थ्रीजी–टुजी (अटो कनेक्ट) जस्ता विकल्पहरुमध्ये एलटिई–थ्रीजी–टुजी (अटो कनेक्ट) अप्सन छनौट गर्नु उपयुक्त हुन्छ । यसका अतिरिक्त, नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताहरुले नयाँ मोबाइल सेट खरिद गर्नुअघि १ हजार ८ सय मेगाहर्ज र ८ सय मेगाहर्ज ब्याण्डका बारेमा जानकारी राखी दुवै ब्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया