Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको नाफामा भारी गिरावट

टेलिकमको नाफामा भारी गिरावट


काठमाडौं ।
नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीको नाफामा साँढे एक अर्ब रुपैयाँ भन्दा बढी गिरावट आएको हो । कम्पनीले चालू आवको पहिलो ६ महिनासम्ममा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले चार अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ६९ करोड रुपैयाँ कम हो ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो भने दोस्रो त्रैमासमा एक अर्ब ७७ करोड रुपैयाँ कमाएको थियो । साथै कम्पनीको आयमा पनि गिरावट आएको छ । गत वर्ष पहिलो छ महिनामा १८ अर्ब तीन करोड आय गरेको कम्पनीले चालू आवमा १७ अर्ब ७२ करोड रुपैयाँ मात्रै आय गरेको छ । यो आय गतवर्षको भन्दा एक दशमलब ७४ प्रतिशत कम रहेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले चालू आवको दोस्रो त्रैमासिकमा पहिलो त्रैमासमा भन्दा ४५ करोड ४२ लाख रुपैयाँ बढी आय गरेको छ । यो वर्ष पहिलो त्रैमासमा आठ अर्ब ६३ करोड, नौ अर्ब आठ करोड आम्दानी गरेकोमा टेलिकमले दोस्रो तैमासमा नौ अर्ब आठ करोड रुपैयाँ आम्दानी गरेको छ । चालू आवको दोस्रो त्रैमासिकमा गत आवको दोस्रो त्रैमासमा भन्दा ९० करोड ८४ लाख बढी आय भएको कम्पनीले जनाएको छ । गतवर्ष दोस्रो त्रैमासमा आठ अर्ब ९९ करोड आम्दानी भएको थियो ।

कोभिड–१९ को प्रत्यक्ष असरका कारण विश्वव्यापी रूपमा व्यापार व्यवसायमा आएको कमीले नाफामा असर परेको टेलिकमले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो वर्षको प्रथम त्रैमासिकको तुलनामा यो वर्षको सोही अवधिमा घटेकाले २० करोड ७४ लाखले कमी आएको टेलिकमको भनाइ छ । टेलिकमले कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराएकाले डाटा उपयोग बढ्दा पनि राजस्वमा कमी आएको बताएको छ ।

महामारीले यात्रा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभूतपूर्व गिरावट तथा ओभर दि टप (ओटीटी)को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआबद्धता सेवामा आएको भारी गिरावटले कम्पनीको नाफामा असर परेको बताइएको छ । समीक्षा अवधिमा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटही दरमा आएको परिवर्तनलगायतका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया