Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण


सर्लाही ।
मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवाबाट छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शीतलपुर हर्दी खोलासम्मको सडक जीर्ण अवस्थामा छ ।

सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुको साथै धूलाम्य हुँदै आएको छ । यात्रा कष्टकर बनेको छ । हेमडुङ्ग एण्ड थोकर÷हिरा एण्ड नमिता जेभी कम्पनीले मलङ्गवाबाट महोत्तरीको सिमाना शीतलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माण तीन वर्षमा सम्पन्न गरिसक्ने भनी ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि २५ प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विगत एक वर्षदेखि निर्माणमा खटिएका निर्माण व्यवसायी काम नै छाडेर बेपत्ता भएका ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए ।

काममा हेलचेक्र्याइँ गर्ने निर्माण व्यवसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले निगरानी गरिरहेको भए पनि निर्माण व्यावसायी सम्पर्कविहीन हुँदा निर्माणबारे बुझ्न नपाएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए । उक्त सडक सुख्खायाममा धूलाम्य तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । सर्लाहीबाट छिमेकी जिल्ला महोत्तरीको सिमाना हर्दी खोलासम्मको सवारी दूरी करिब २० मिनेटको रहेको भए पनि सडकको निर्माण नहँुदा घण्टौँ लाग्ने गरेको छ ।

जीर्ण सडकका कारण दिनदिनै सवारीसाधन बिग्रेर आफू हैरान भएको सवारी चालकको गुनासो छ । स्थानीय निकायले निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको ध्यानाकर्षण गराएको भए पनि ठेकेदारको माथिल्लो तहमा सम्बन्ध रहेका कारण त्यसको कुनै सुनुवाइ नभएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । संघीय संसद्मा पुगेका जनप्रतिनिधिले यस सडकको स्तरोन्नतिका लागि ठेकेदारलाई ध्यानाकर्षण गराउनेलगायत काम नगरेको स्थानीयको आरोप छ ।

बजेटको सुनिश्चितता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए । स्थानीय दश गाउँका बासिन्दाका लागि किनमेल गर्ने सबैभन्दा नजिकको बजार सदरमुकाम मलङ्गवासम्म पुग्ने मुख्य सडकखण्ड हुलाकी सडक भए पनि निर्माण नहुँदा छिमेकी भारतका बजारमा जानुपर्ने बाध्यता छ । भारतबाट सर्लाही हुँदै महोत्तरी पुग्ने मुख्य सडकको रुपमा रहेको हुलाकी सडकको अवस्था स्तरोन्नति हुनुको सट्टा दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया