Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकिमको सोधपुछ तथा गुनासो व्यवस्थापन सुविधा बहुउपयोगी भएको दाबी

टेलिकिमको सोधपुछ तथा गुनासो व्यवस्थापन सुविधा बहुउपयोगी भएको दाबी


काठमाडौं ।
नेपाल टेलिकमले सोधपुछ तथा गुनासो व्यवस्थापनको लागि राखिएको सुविधा धेरै उपयोगी भएको बताएको छ । टेलिकमका विभिन्न सेवाबारे जानकारी लिन तथा गुनासाहरु राख्नका लागि १९१, १९७, १९८ र १४९८ नम्बरहरु प्रदान गरेको छ । कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन ती नम्बरहरु धेरै नै उपयोगी बनेका टेलिकमको भनाइ छ । सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क व्यवस्था गरिएको हो ।

ग्राहक सेवाअन्तर्गत जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाबारे जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशनअनुसार जीएसएमको लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ । त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ । यस्तै नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात् स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनै पनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ ।

हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंक अर्थात् ‘एनटीसी डट नेट डट एनपी स्ल्यास फिक्ड डट लाइन डट इनक्वाइरी’मा गएर पनि खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।

यस्तै टेलिकमका सेवाहरुबारे गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ । टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ । १९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशनअनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ । त्यसपछि दिइएको निर्देशनअनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्नेछ ।

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि भने १४९८ मा फोन गर्न सकिनेछ । मोबाइल तथा वाइम्याक्स सेवासम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगबारे कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ भने यसका अलावा टेलिकमको कम्पनीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुबारे आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया