Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले काठमाडौंको लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्ने

एनसेलले काठमाडौंको लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्ने


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाडौंको लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्ने भएको छ । यस आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पु-याउने उद्देश्य लिइएको छ ।

यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विशेषताहरु रहनेछन् । यो उद्यान ५४ हजार नौ सय २१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

समझदारीअनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे छ । ग्राउण्ड क्लियरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ ।

परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विशेषताहरु हुन् ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे जनाएको छ ।

औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।

एनसेलले विभिन्न सामाजिक पहलअन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायतका विभिन्न क्षेत्रमा एक दशमलव २७ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पु¥याएको जनाएको छ ।

स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ । वातावरण क्षेत्रअन्तर्गत, एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ ।

झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पु-याउने उद्देश्य लिएको छ । यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपण गरेको थियो ।

यसका साथै धनुषामा वृक्षरोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेको थियो । यस पहलको सफल कार्यान्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया