Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिल्लीबजारमा खुल्यो १२ थरि मःमः रेस्टुरेन्ट

डिल्लीबजारमा खुल्यो १२ थरि मःमः रेस्टुरेन्ट


काठमाडौं ।
काठमाडौंको डिल्लीबजारमा १२ थरी मःमः पाइने रेस्टुरेन्ट सञ्चालनमा आएको छ । २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानी गरेर शनिबारदेखि उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । पोखरामा होटल सञ्चालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका सुनिम मैनालीले यो रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ ।

अर्याल र मैनाली स्कुले साथी हुन् । रेस्टुरेन्ट खोल्नुअगाडि उनीहरुले मुलुकका विभिन्न सहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिएका थिए । डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ । एकपटकमा २६ जना ग्राहकले सहजै सेवा लिनसक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक मैनालीले बताए ।

उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आबद्ध गरिएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनले जानकारी दिए । ‘सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा एक सय ५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्,’ उनले भने । ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ ।

रेस्टुरेन्टमा कोदो, फापर, ग्रिन, चिजलगायत विभिन्न थरीका मःमः पाइनेछ । ‘अहिले फापर र कोदोलाई स्वास्थ्यवद्र्धक मानिँदै आइएको छ । हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं ।’

प्रत्येक परिकारमा तीनथरिको अचार ’चटनी’ राखिएको उनले जानकारी दिए । ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन् । रेष्टुरेन्टमा मःमःसँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्सलगायतको परिकार पनि राखिएको उनले जानकारी दिए । पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया