आयोडिनयुक्त नुनका चार डिपो रित्तै
जाजरकोट ।
सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।
त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । वर्षेनी सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उनको भनाइ छ । उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ । अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो ।
यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्यडोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ । सरकारले सदरमुकाम दुनैमा तीन सय क्विन्टल, जुफालमा दुई सय क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा चार सय ५० क्विन्टल, मुड्केचुलाको सर्मीमा तीन सय क्विन्टल र जगदुल्लाको काइगाउँमा दुई सय ५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ । वर्षेनी मागका आधारमा पनि कोटा तलमाथि हुनसक्ने बताइएको छ । अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्रीवितरण हुँदै आएको छ ।
यस आवमा सदरमुकामबाट बाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले खान नपाएको प्रमुख धामीले जानकारी दिए । उनले भने, ‘मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले आयोडिनयुक्त नुन माग गरेका कारण एक सय ५० क्विन्टल पठाउने तयारी गरिरहेकै समयमा कोरोनाका कारण बन्द हुँदा ढुवानीमा समस्या परेको छ ।’ अघिल्लो वर्ष जुफालमा एक हजार क्विन्टल र दुनैमा तीन सय क्विन्टल आयोडिनयुक्त नुन आएको थियो । दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडासहित नुन अनुदानमा दिँदा प्रतिपोका नौ रुपैयाँमा बिक्री हुँदै आएको छ ।
डिपोमा नुन नभएपछि स्थानीय पसलमा महङ्गोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । जतिपटक नुनका लागि डिपोमा गए पनि सधैं छैन भन्ने जवाफ आउने गरेको मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले बताए । सदरमुकाम दुनै र जुफालमा नियमित आयोडिनयुक्त नुन बिक्रीवितरण भए पनि सदरमुकामबाहिर बिक्रीवितरण कार्य शून्य रहँदै आएको छ ।
सदरमुकामबाहिरका मुड्केचुलाबाहेक अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताए । माग गरेको भए सदरमुकामको कोटाबाट काटेर भए पनि ढुवानी गर्न सकिने अवस्था रहे पनि स्थानीय सरकारले चासो नदिँदा नुन पठाउन नसकिएको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया