पर्यटकीयस्थलमा उद्यान निर्माण
बाग्लुङ ।
यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवर्द्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो । उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत १२/१२ लाख रुपैयाँ बजेट आएको थियो । कूल १५ लाख रुपैयाँको योजनामा स्थानीयवासीले तीन लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।
राम्चेढुङ्गाको आठ रोपनी जग्गा समेटेर उद्यान बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । उक्त बजेटबाट उद्यानसम्म पुग्ने २०० मिटर पदमार्ग, प्रवेशद्वार, टिकटकक्षसहितको भवन, शौचालयलगायत संरचना निर्माण गरिएको उनको भनाइ छ । हरियाली उद्यानका लागि त्यहाँ विभिन्न प्रजातिका बोटबिरुवासमेत रोपिएको छ ।
स्थानीय जनहित माविको नाममा रहेको जग्गामा उद्यान बनाइएको हो । उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । थप आर्थिक स्रोत जुटाएर पोखरी, विश्रामस्थल, मन्दिर आदि निर्माण गरेर बृहत् पर्यटकीय उद्यानका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष थापाले बताए । ‘सबै पूर्वाधार तयार गर्दा एक करोडजति बजेट लाग्ने हाम्रो अनुमान छ’, उनले भने ।
राम्चेढुङ्गालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । गाउँले जनजीवन, कला र संस्कृति झल्काउने सांस्कृतिक संग्रहालय पनि निर्माणको अन्तिम चरणमा छ । गण्डकी प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ११ लाख रुपैयाँ बजेटबाट संग्रहालय भवन बन्न लागेको हो । उक्त संग्रहालय बनेपछि राम्चेढुङ्गामा नयाँ पर्यटकीय आकर्षण थपिनेछ । मनोरम प्रकृति, भू–बनोट र हिमशृङ्खलाको अवलोकन त्यहाँका मुख्य आकर्षण हुन् ।
गलकोटको अर्को आकर्षक गन्तव्यस्थल सहस्रधारा झरना परिसरमा बनेको उद्यानले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ । उद्यान निर्माण योजनाअन्तर्गत झरनासम्म पुग्ने पदमार्ग, पोखरी, शौचालय, बगैँचा निर्माण, वृक्षरोपणलगायतका काम गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरिएको हो । सहस्रधारा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि नगरपालिकाले पनि बर्सेनि लगानी गर्दै आएको छ । ‘सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ पूर्वाधार निर्माणमा जोड दिएका छौँ’, वडाध्यक्ष भण्डारीले भने ।
उक्त झरनामा दुई वर्षअघि पहिलोपटक व्यावसायिकरूपमा क्यानोनिङ खेलाइएको थियो । राम्चेढुङ्गा र सहस्रधारा गलकोटका उदाउँदा पर्यटकीयस्थल हुन् । राम्चेढुङ्गामा व्यावसायिक प्याराग्लाइडिङ र सहस्रधारा झरनामा छाँगावरोहण (क्यानोनिङ) खलेको सम्भावना छ ।
पूर्वाधार निर्माणसँगै पर्यटकीय आकर्षण थपिन थालेपछि दुवै ठाउँ घुम्न जानेको सङ्ख्या पनि बढ्दो छ । उद्यान निर्माणले पर्यटकीय आकर्षण बढ्नुका साथै पर्यावरण पनि संरक्षण हुने जनाइएको छ । शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवर्द्धन तथा उद्यान निर्माणको योजना ल्याइएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया