Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसार्वजनिक यातायातमा भाडा बढाउन व्यवसायीको माग

सार्वजनिक यातायातमा भाडा बढाउन व्यवसायीको माग


काठमाडौं ।
यातायात व्यवसायीहरूले सार्वजनिक र पर्यटन यातायाततर्फको भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् । यातायात व्यवसायीले प्रधानमन्त्री केपी ओलीलाई कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै बुझाएको ज्ञापनपत्रमा उनीहरूले भाडावृद्धि गर्न समेत माग गरेका छन् ।

यातायात क्षेत्रलाई प्रभाव पार्ने तत्वमा शतप्रतिशत मूल्य वृद्धि हुँदासेमत वि.सं. २०६९ यता भाडावृद्धि नभएकोले यातायात व्यवसायीले ठूलो नोक्सानी व्यहोरिरहेको उनीहरूको गुनासो छ । यातायात व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बिहीबार विभिन्न माग समेटिएको सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा परेको झण्डै चार लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायीसहित नौ लाख मजदुर चपेटामा परेको बताएका छन् । आफूहरूका समस्याबारे प्रधानमन्त्री कार्यालयसहित सरकारका सबै निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानको प्रयास नभएको उनीहरूको आरोप छ । व्यवसायीले यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउनुपर्ने माग राखेका छन् ।

कोरोनाका कारण बन्दाबन्दी अवधिलाई शून्य अवधि मान्दै राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा तथा ब्याजमा सहुलियत दिनुपर्ने माग पनि व्यवसायीको छ । यस्तै २० वर्षे गाडी विस्थापनसम्बन्धी सरकारी नीतिमा परिमार्जन गर्दै २५ वर्ष तोक्नुपर्ने माग पनि व्यवसायीको छ । विभिन्न समयमा भएका राजनीतिक आन्दोलन आदिका कारण पूर्ण अवधि सञ्चालन हुन नसकेकाले पाँच वर्ष सञ्चालन अवधि थप गनुपर्ने तर्क व्यवसायीको छ ।

यस्तै व्यवसायीले बन्दाबन्दी समयमा यातायात सञ्चालन नभएका कारण उक्त अवधिको बीमा पूर्ण समायोजन हुनुपर्नेमा बीमा कम्पनीले आफू खुसी समयावधि कायम गरेको भन्दै आपत्ति जनाएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, नियम, सडक कानुन र सरकारले समय–समयमा परिवर्तन गरी जारी गर्ने यातायातसम्बन्धी कानुन आपसमा बाझिएकाले सवारी चालक अनुमतिपत्र वितरण विधि, दुर्घटना जोखिममा न्यूनीकरणमा समस्या, ट्राफिक जरिवाना र कारबाही, यात्रुवाहक र मालवाहक सवारी सञ्चालनमा अनेकौँ समस्या देखिएको उनीहरूले गुनासो गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x