Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान भर्ने

बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान भर्ने


काठमाडौं । बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान भर्ने भएको छ । प्रादेशिक उडान विस्तारमा केन्द्रित कम्पनीले पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्न सिधा उडान भर्ने अभियान थालेको हो । पोखरालाई विभिन्न प्रदेशबाट हवाइमार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साताअगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । सुरुमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा सहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरा/वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिमरा/वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय सहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल शृंखलाको आनन्द लिन सक्नेछन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय सहर पटना, दरभङ्गा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार नौ सय ९९ रुपैयाँमा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाइ टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्विन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० वटा, एटीआर–४२ जहाज तीन र क्राफ्ट दुईवटा रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x