सरकारले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने बताएकी छिन् । विद्युतीय सवारीसाधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको उनले बताइन् ।
नेपाल सौर्य विद्युत् उत्पादक संघको २१औँ वार्षिक साधारणसभालाई बिहीबार धुलिखेलमा सम्बोधन गर्दै उनले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको समेत उल्लेख गरिन् । यस्तै उनले सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सफ्ट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने बताइन् ।
पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’ अवधारणाको विकास भएको भन्दै उनले यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने उल्लेख गरिन् । नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गर्नुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।
परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै उनले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औँल्याइन् । यस्तै नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विश्व नै लागेको भन्दै उनले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने बताइन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलन (कोप–२६)मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन् ।
सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले दश प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको जानकारी समेत दिइन् । वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यतः सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख रहेको उनको भनाइ छ । हाल ऊर्जा प्रणालीमा करिब दुई हजार सय मेगावाट विद्युत् जडित क्षमता छ ।
दश प्रतिशतको नीतिले करिब दुई सय मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । हाल ११० मेगावाटबराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालनमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु-याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।
मुलुकका छ प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने गरी त्यस्ता आयोजनाको पीपीएलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् ।
सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
ऊर्जा व्यापारबारे छिमेकी देशसँग पनि छलफल चलाउने र नेपालमै सिँचाइका लागि निःशुल्क विद्युत् वितरण गर्नेबारे पनि छलफल गर्ने योजना रहेको उनले बताइन् । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका कुलपति डा. सुनिलबाबु श्रेष्ठले सबैले सौर्य ऊर्जाका विषयमा स्वीकार्य हुने गरी काम गर्न सुझाव दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले सरकारले नेपालका प्रयोग गर्न बाँकी ९२ प्रतिशत ऊर्जालाई कसरी उत्पादन गर्नेबारे योजना ल्याउन छलफलको आवश्यकता औँल्याए ।
कार्यक्रममा संघका अध्यक्ष इन्द्र खनालले सरकार र निजी क्षेत्रसँग मिलेर नौ लाख ६१ हजार परिवार तथा विद्यालय, स्वास्थ्य संस्था गरी तीन हजार संस्थागत रुपमा सौर्य ऊर्जा पु-याएको जानकारी दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया