Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन’

‘रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन’


तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग व्यवसाय फस्टाउन नसक्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको ३६औँ साधारणसभालाई उदघाटन गर्दै उनले श्रमिक र रोजगारदाताबीच आपसी समझदारी र सहकार्य नभए उद्योग क्षेत्र धाराशायी बन्ने बताएका हुन् ।

‘श्रमिक रहे रोजगारदाता रहन्छन्, रोजगारदाता रहे श्रमिकको घरमा चुल्हो बल्छ’, उनले भने, ‘उद्योग फस्टाउन दुवैको उत्तिकै महत्वपूर्ण योगदान आवश्यक छ ।’ रोजगारदाता र श्रमिक एकअर्काका परिपूरक रहेको उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर बनाउन सरकारका तर्फबाट खेल्न सक्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘रोजगारदाताका पनि आफ्नै समस्या छन्, बैंकको ऋण तिर्ने समस्या एकातिर हुन्छ, अर्कोतर्फ श्रमिकको पनि आफ्नै समस्या छन्’, उनले भने, ‘दुवैको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।’ कोभिड–१९ ले उद्योगी व्यवसायीलाई आक्रान्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोभिडकै कारण लाखौँ श्रमिकले पनि रोजगारी गुमाएको बताए । रोजगारी गुमाएका श्रमिकलाई रोजगारीको व्यवस्थापन गर्नु सरकारको चुनौती रहेको उनको भनाइ थियो । उनले उद्योगी व्यवसायीलाई आवश्यक सीप प्रदान गर्न विभिन्न तालिम सञ्चालन गर्ने विषयमा आफू कटिबद्ध रहेको समेत बताए ।

यस्तै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सुधारका काम सुरुवात भइसकेको उनको भनाइ थियो । सीपमूलक सीप प्रदान गर्नका लागि सातवटै प्रदेशमा तालिम केन्द्र र प्रदेशबाटै श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गर्न लागिएको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए । उनले लगानीको वातावरण सिर्जना गर्नका लागि आवश्यक नीति निर्माण गरिने जानकारी दिए ।

प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले उद्योग व्यवसाय फस्टाउन आवश्यक नीति निर्माणमा सहयोग गर्ने बताएका थिए । सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले युवालाई स्वरोजगार र महिलालाई उद्यमशील बनाउने खालका कार्यक्रम ल्याउन मन्त्री श्रेष्ठमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x