Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘गैंडाको निधनमा निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा कारबाही’

‘गैंडाको निधनमा निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा कारबाही’


काठमाडौं । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैँडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैरकानुनी रूपमा कारबाही अगाडि बढाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण कम्पनी इन्डो—सगुन जेभीबाट उक्त निर्माणकार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ । ‘

तथ्य तोडमोड गरी निर्माण व्यवसायीउपर प्रचलित कानुनविपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख—हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने र निर्माणकार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ’, महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्माणस्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माणकार्य गरिरहेको अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी झूठा लाञ्छना लगाई व्यवसायीहरूलाई मुछेर मानमर्दन गरिएको महासंघको दाबी छ । यस घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानको नाममा झूठा लाञ्छना लगाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नेलगायतका काम कारबाही तत्काल रोक्न महासंघले माग गरेको छ ।

साथै भविष्यमा समेत पूर्वाधार विकास निर्माणका कार्यहरू हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता किसिमका घटनाहरूमा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्न समेत महासंघले सरकार तथा सम्बन्धित निकायहरुसँग माग गरेको छ । विश्वमै दुलर्भ एकसिंगे गैँडाको निधनबाट महासंघ समेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको छानबिन गर्न वन मन्त्रालयद्वारा गठित छानबिन समितिमा महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एवम् स्वतन्त्र छानबिन समिति गठन गरी घटनाको विना कुनै पूर्वाग्रह सत्य तथ्य सार्वजनिक गर्न महासंघले माग गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x