ललितपुरमा महिला उद्यमी मेला
ललितपुर । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको आयोजनामा महिला उद्यमी मेला शुक्रबारबाट हुने भएको छ । ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तीकरणको आधार ः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहाल र इलाननीमा मेला हुनलागेको हो ।
नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँग सहकार्य गरी मेला आयोजना गरिएको वडाले जनाएको छ । मेला तीन दिनसम्म सञ्चालन हुनेछ । स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवर्द्धन गरी महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने यस मेलाको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए ।
वडाअध्यक्ष शाक्यका अनुसार हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने पनि मेलाको उद्देश्य रहेको छ । मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, खाद्य सामग्री, लत्ता कपडा र सज्जावटका सामग्रीहरुहरुको गरी ५१ वटा स्टल नागबहालमा रहनेछ । त्यसका साथै हस्तकलाका सामग्रीको सहुलियत दरमा बिक्रीवितरण गर्ने स्टलहरु पनि रहने वडाले जनाएको छ ।
हस्तकला महासंघद्वारा हस्तकला प्याभिलोन, ललितपुर उद्योग वाणिज्य संघले ललितपुरमा उत्पादित सामग्रीको प्रवर्द्धन गर्न अघि सारेको मेड इन ललितपुरको अवधारणाअनुरुप मेड इन ललितपुर प्याभिलोन रहनेछ । हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाइने महासंघका उपाध्यक्ष रविन शाक्यले बताए । विश्वप्रसिद्ध हिरण्यवर्ण महाविहार परिसर इलाननीमा नेवाः खाजाका विविध स्टलहरु रहनेछ । मेलाबाट नेवारी खाजाको ब्राण्डिङमा सहयोग पु-याउने हाम्रो विश्वास रहेको छ । तीन दिने मेलाको हरेक दिन सांगीतिक क्षेत्र ख्यातिप्राप्त कुटुम्ब ब्याण्ड र प्रोजेक्ट बाजाको विशेष सांगीतिक प्रस्तुति गरिनेछ ।
वडाद्वारा गत वर्ष फेसन डिजाइन सिलाइसम्बन्धी तालिम लिएकाहरुबाट ‘फेसन शो’, फोटोग्राफी र चित्रकलाको प्रदर्शनी पनि मेला अवधिभर हुनेछ । यससँगै वडाभित्र पर्ने अमूर्त संस्कृति, कला, सम्पदा संरक्षणको सन्देश प्रवाह गर्ने कार्यक्रम हुनेछ । नागबहालको भंसाछें सभाहलमा महिला उद्यमशीलताका चुनौती र अवसर, हस्तकला क्षेत्रमा महिला विषयमा प्यानल छलफल हुने वडाले जनाएको छ ।
वडाले यसअघि पनि विभिन्न मेलाहरुको आयोजना गर्दै आएको छ । वडामा जनप्रतिनिधि बहाल भएदेखि नै पूर्वाधार विकासका अतिरिक्त मानवीय विकासलाई पनि प्राथमिकतामा राख्दै आएको पनि वडाअध्यक्ष शाक्यले बताए । मेलाले ललितपुरमा रहेको महिला उद्यमीको परिश्रमलाई उजागर गर्न मद्दत गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया