Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगन्यूखिम्ती सबस्टेसन सञ्चालनमा

न्यूखिम्ती सबस्टेसन सञ्चालनमा


काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेसन सञ्चालनमा आएको छ । न्यूखिम्ती सबस्टेसनको औपचारिक उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यो हालसम्म संचालनमा आएको दोस्रो ठूलो सबस्टेसन हो । यो सबस्टेसनले दोलखाको गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत्बाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारणलाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ । ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेसन भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेसनका इलेक्ट्रिकल इञ्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । वि.सं. २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेसन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुवाती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ ।

न्यूखिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिने बताइएको छ । हालको क्षमताअनुसार सो सबस्टेसनमा कुल नौ सय मेगावाट बराबर बिजुली जोड्न सकिने बताइएको छ । रामेछाप, दोलखालगायतका जिल्लामा निर्माणसम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो ।

माथिल्लो तामाकोशीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ । सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x