Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हाइड्रो एक्स्पो’ शनिबारदेखि

‘हाइड्रो एक्स्पो’ शनिबारदेखि


काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी शनिबारदेखि सोमबारसम्म आयोजना हुनेभएको छ । यसअघि शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण एक दिन पछाडि सारिएको आयोजकले जनाएको छ । शुक्रबार घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो । एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पूर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्नसक्ने भएकाले शनिबारदेखि सुरु गर्न लागिएको बताए । एक्स्पोमा सहभागी हुने सबै पक्षहरूलाई शनिबारका लागि तयारी तथा व्यवस्थापन गर्न पनि प्रधानले आग्रह गरेका छन् । साथै प्रधानले एक्स्पोमा सहभागी हुने प्रदर्शकहरू आउने क्रम जारी रहेको भन्दै सहभागी हुन चाहनेलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा एक सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहनेछन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ । भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ । हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रोसम्बन्धी सरोकार राख्नेहरूलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेसन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिनेछ । विद्युतीय सवारीसाधनको -याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारीसाधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एक्स्पो अवलोकनका लागि आएका अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था व्यवस्था गरिएको छ । एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन आकर्षणका रूपमा रहनेछ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइनेछ ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु-याउने विश्वास गरिएको छ । तीन दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x