Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन अनिश्चित

नुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन अनिश्चित


नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको ११औँ अधिवेशन तथा २८औँ वार्षिक साधारणसभा स्थगित भएको छ । सदस्य नवीकरण शुल्क संघमा जम्मा नगरेको कारण सभा स्थगित भएको हो ।

संघको विधानअनुसार गत असोजमा नवीकरण गरेको सदस्यको शुल्क प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले नबुझाएपछि चैत २५ र २६ गतेको लागि तयारी गरिएको अधिवेशन अनिश्चित भएको हो । संघको सदस्यता नवीकरण गत असोजमा आफुअनुकूल गरेको तर पाँच महिना बितिसक्दा पनि रसिदअनुसारको पैसा संघको खातामा जम्मा नभएकोले अधिवेशनमा भाग लिने सदस्यको नामावली सार्वजनिक गर्न नसकेको कारण अधिवेशन स्थगित हुन पुगेको हो ।

अधिवेशनले नेतृत्वचयन गर्ने भएकोले संघका पदाधिकारीले आफूअनुकूल सदस्यता नवीकरण गरी नेतृत्व कब्जा गर्न खोजेकोले अधिवेशनको निर्धारित मिति चैत २५ र २६ गते नहुने भएको हो । संघमा सदस्यता नवीकरणको रकम छ लाख जम्मा नभएपछि कार्यसमितिका उद्धव पन्थ, गीता ढकाल, नविन जोशी, उत्तम ढकालले हिसाब सार्वजनिक गर्न अध्यक्षलाई दबाब दिएपछि उक्त घटना बाहिर आएको हो । असोजमा काटेको रसिद नेतृत्व सर्वसम्मत हुने भयो भन्दै कोषाध्यक्ष दिनेश श्रेष्ठले फिर्ता लिँदै रद्द गरेपछि संघका केही पदाधिकारी रूष्ट भएका छन् ।

२०४५ सालमा स्थापना भएको संघमा दुई हजार सदस्य रहेका छन् । संघको अधिवेशनको लागि १२ सयभन्दा बढीले नवीकरण गरेका छन् । संघको कार्यसमितिको पदावधि यही चैत ३० गते सकिने भएकोले चैत २५ र २६ गते अधिवेशन गरी नेतृत्व चयन गर्ने तयारी भइरहेको थियो । गत असोजमा सदस्यता नवीकरण गर्न अरूलाई सूचना समेत जारी नगरी संघका केही पदाधिकारीले आफूअनुकूल सदस्य नवीकरण रसिद काटेर बसेका थिए ।

संघको नेतृत्व सर्वसम्मत गर्ने भन्दै कार्यसमितिका सदस्यलाई जानकारी नगराएपछि संघमा अहिले भाँडभैलो भएको छ । संघ विगत छ वर्षदेखि कांग्रेसले भ्रातृसंस्थाका रूपमा प्रयोग भएको आरोप संघका एक पूर्वअध्यक्षले लगाएका छन् । तत्काल हिसाब विवरण सार्वजनिक नगरे जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी गर्ने तयारी संघका केही सदस्यले गरेका छन्। संघ नुवाकोट जिल्ला प्रशासन कार्यालयमा संघ–संस्था ऐनअन्तर्गत दर्ता भएको संस्था हो ।

संघको विवाद मिलाउने भन्दै महासचिव कृष्ण अधिकारी, सचिव उपेन्द्र बुढाथोकी, प्रवक्ता सबिनराज भण्डारी, कांग्रेसको पार्टी कार्यालयमा निवेदन दिएपछि संघको विवाद थप छताछुल्ल भएको छ । संघका वर्तमान अध्यक्ष ताराबहादुर कार्कीले दुई कार्यकाल नेतृत्व गरेर बाहिरिने भएपछि पदाधिकारीबीच अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलगायत पदमा हानथाप परेपछि कांग्रेसको जिल्लामा सीमित विवाद केन्द्रीय सदस्य बहादुर लामा हुँदै केन्द्रीय प्रवक्ता डा.प्रकाशशरण महतको सचिवालयसम्म पुगेको छ ।

कांग्रेसको अर्जुननरसिंह केसी पक्षले सदस्यता विवाद टुंगो लगाएर मात्र संघको अधिवेशन गर्न सुझाव दिए पनि संघका पदाधिकारीले बेवास्ता गरेपछि अधिवेशन थप अनिश्चित बनेको छ । संघको विधानअनुसार अधिवेशन छ महिना वर र पर गर्नसक्ने व्यवस्था भए पनि कांग्रेसको दबाबको कारण अध्यक्ष कार्कीले चैतमै अधिवेशन गरेर नेतृत्व जिम्मा लगाउन खोजेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x