Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग


काठमाडौं । विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन् । निजी क्षेत्रका तीन ठूला संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी तत्कालको लागि नियमित रूपमा भारतीय बजारबाट विद्युत् खरिद गरेर भए पनि उद्योगहरूलाई निर्बाध रुपमा विद्युत् उपलब्ध गराउन माग गरेका हुन् ।

औद्योगिक क्षेत्रहरूमा विद्युत्को आपूर्ति अनियमित भएदेखि उद्योगीहरूमा अन्यौल बढ्दै गएको निजी क्षेत्रले जनाएको छ । अनियमित विद्युत् आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको छ । विद्युत्मा देखिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौँ पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, बैंकको चर्को ब्याज र सावाँ भुक्तानीमा समस्या पर्न गएकोतर्फ निजी क्षेत्रले सरकार र प्राधिकरणको ध्यानाकर्षण समेत गराएको छ ।

जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्राधिकरणले गरेको प्रतिबद्धतालाई पनि निजी क्षेत्रले स्मरण गराएका छन् । विद्यमान समस्याको तत्काल समाधानका लागि नियमित रूपमा भारतीय बजारबाट विद्युत् खरिद गरी उद्योगहरूलाई निर्बाध उपलब्ध गराउन वा त्यो सम्भव नभए उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न उनीहरुले प्राधिकरणलाई आग्रह गरेको छ ।

यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, आयातित विद्युत्को गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ पहल गर्न पनि आग्रह गरिएको छ । औद्योगिक क्षेत्रमा भइरहेको विद्युत्को अनियमित आपूर्तिले नेपालको औद्योगीकरणको यात्रामा गम्भीर धक्का दिएको निजी क्षेत्रको भनाइ छ । प्राधिकरणले नै विद्युत् खपत बढाउन निजी क्षेत्रलाई आग्रह गर्ने र फेरि विना सूचना घण्टौँ विद्युत् आपूर्ति अवरुद्ध पार्नुले उद्योगी व्यवसायीमा थप चिन्ता बढाएको छ । यस अवस्थाको अन्त्य गरी औद्योगिक वातावरण निर्माणतर्फ ध्यान दिन उनीहरुले आग्रह गरेका छन् ।

‘नेपाल सरकारको पूर्ण स्वामित्वको सार्वजनिक संस्थानले नाफा/घाटा नहेरी औद्योगीकरणको वातावरण निर्माणमा ध्यान दिँदा समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने हाम्रो बुझाइ छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको विशिष्टीकृत उत्पादन व्यवस्थापनको यो अवस्था आफैँमा सोचनीय छ । विद्युत् उत्पादन वृद्धि गरी उद्योगहरूलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने र समग्र औद्योगिक उत्पादनको लागत न्यूनीकरणमा ध्यान दिनुपर्ने बेलामा उद्योगहरूलाई विद्युत्को मूल्यवृद्धिको प्रस्ताव गरिनु दुर्भाग्यपूर्ण छ ।’

उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने भन्दै निजी क्षेत्रले चिन्ता समेत जनाएका छन् । अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारको रूपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने सरकारको आर्थिक वृद्धिको लक्ष्यमा पनि गम्भीर असर पुग्ने निजी क्षेत्रको निष्कर्ष छ । साथै उच्च लागतमा वस्तु उत्पादन गर्दा त्यसले प्रतिस्पर्धी क्षमता गुमाउँदा समग्र निर्यात प्रभावित हुने र उक्त वस्तुको आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले समग्र जनजीवन प्रभावित हुनेतर्फ बेलैमा ध्यान दिन निजी क्षेत्रले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र चर्को ब्याजबाट थलिएका उद्योग व्यवसायलाई अघोषित लोडसेडिङको अर्को समस्याले थप संकटतर्फ धकेलेको उनीहरुको भनाइ छ । यो समस्या तत्काल समाधान नभएमा नेपालमा औद्योगिक वातावरणमा थप नकारात्मक सन्देश प्रवाह हुने र यसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत निरुत्साहित गर्ने विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x