Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टक क्लियरेन्स मेलाको सबै तयारी पूरा

स्टक क्लियरेन्स मेलाको सबै तयारी पूरा


काठमाडौं । चैते दशैँको अवसर पारेर राजधानीको भृकुटीण्डपमा हुनलागेको स्टक क्लियरेन्स मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्ने गरी मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

इभेन्ट सोलुसन प्रालिको आयोजना आज अर्थात् बुधबारदेखि पाँच दिनसम्म मेला चल्नेछ । इभेण्ट सोलुसनका प्रबन्धनिर्देशक विजय सागर प्रधानका अनुसार मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुनेछ । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुनसकेको थिएन । एक्स्पोमा चैते दशैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । ‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टलहरु रहनेछन्’, भट्टले भने ।

सम्पूर्ण उपभोग्य सामग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।

‘सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौँतारिनुपर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं’, इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए । ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आकलन इभेन्ट सोलुसनको छ । मेला चैत २७ गते चैते दशैँका दिनसम्म सञ्चालन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x