Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग८० अर्ब ३९ करोड अमेरिकी अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर

८० अर्ब ३९ करोड अमेरिकी अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर


काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने ८० अर्ब ३९ करोड (शुक्रबारको विनिमय दरअनुरुप) रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । आगामी पाँच वर्षको लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का निर्देशक सेपिदेह केवंसद र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सहयोगले मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न मद्दत गर्ने अर्थ मन्त्रालय र यूएसएआईडीले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा निर्देशक केवंसदले पाँच वर्षसम्म सञ्चालन हुने सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नतिमा योगदान गर्ने बताए । अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।

अर्थ मन्त्रालयका अनुसार सो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिने जनाइएको छ । नेपाल र अमेरिकाबीच बिहीबार भएको सो पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x