Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यावसायिक कर समान गर्न आग्रह

व्यावसायिक कर समान गर्न आग्रह


काठमाडौं । नेपाल व्यापार संघले व्यावसायिक कर समान गर्न काठमाडौका नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ । संघले आइतबार साँझ आयोजना गरेको काठमाडौँ महानगरपालिका वडा नम्बर १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

संघका अध्यक्ष कुमार कार्कीले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको जनाउँदै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे । उनले मल्लकालीन व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा पार्किङको ठूलो समस्या रहेको भन्दै पार्किङलाई व्यवस्थित गर्नुपर्ने, पार्किङ शुल्क घटाउनुपर्ने, व्यावसायिक कर सबै वडामा समान गर्नुपर्नेलगायतका माग राखेका थिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए । जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुने उनको भनाई थियो । अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक १२ करोड रुपैयाँभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै उनले व्यवसायीका समस्या समाधानका लागि बेला–बेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे । न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष राजेश डङ्गोलले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने बताए । व्यवसायीको इच्छा र चाहनाअनुसार आफूहरुले सेवा प्रदान गर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले आफूहरुले कार्यपालिका बैठकमा काठमाडौँको पार्किङ, घरभाडालगायतका व्यवसायीको समस्याबारे आवाज उठाइसकेको बताए । बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सीसीटीभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उनले उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x