Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरुपन्देहीका इँट्टा उद्योग समस्यामा

रुपन्देहीका इँट्टा उद्योग समस्यामा


भैरहवा । रुपन्देहीका इँट्टा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँट्टाको माग घट्नाका साथै इँट्टा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँट्टा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

गत वर्ष २५ हजार रुपैयाँ प्रतिमेट्रिक टन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिक टन पुगेको र महँगो लागतमा इँट्टा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँट्टा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताए । उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्का साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँट्टा उद्योगलाई असर पारेको जानकारी दिए । महासचिव गुप्ताले भने, ‘इँट्टा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँट्टा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँट्टा उद्योग बन्द गर्ने मनसायमा इँट्टा उद्योगी पुगेका हुन् ।’

जिल्लामा करिब ४८ इँट्टा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँट्टाको माग नहुँदा सञ्चालित इँट्टा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो । त्यस्तै लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघका सदस्य दीपक पौडेलले इँट्टा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । उनले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँट्टाको माग बढाउनुपर्नेमा जोड दिए । रुपन्देहीमा उत्पादित इँट्टा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि इँट्टा व्यवसायीले इँट्टा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँट्टा उद्योग बन्द गर्ने अखिल भारतीय इँट्टा एवं टायल व्यवसायी महासंघले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x