Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाल्पा सिमेन्ट भारतमा निर्यात

पाल्पा सिमेन्ट भारतमा निर्यात


काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुनथालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक समारोह गर्दै ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी औपचारिक शुभारम्भ गरेको हो । आरएमसी समूहका प्रबन्धनिर्देशक राजेशकुमार अग्रवालका अनुसार, परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरिएको हो ।

उनले भने, ‘सरकारको नीति कुरेर बसेनौँ सरकारको छुट आउँदै गर्छ । निकासी सुरु गरेर विदेशी सञ्चिति बढाऔँ भन्नेतर्फ लाग्यौँ ।’ यो उद्योगले १५ दिनअघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो । आरएमसी समूहको वीरगञ्जमा रहेको आरएमसी सिमेन्टले चार वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो । सिमेन्टमा ९० प्रतिशतभन्दा बढी मूल्यअभिवृद्धि हुने भएकोले निकासीबाट पनि अधिकतम लाभ हुन्छ । सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतीय बजार हेरिरहेका थिए । अरु उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको हो ।

हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन जति रहेको अनुमान छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणको कामलाई तीव्रता दिने क्रममा विभिन्न भौतिक संरचना पुनर्निर्माण गर्ने गतिसँगै सिमेन्ट उद्योगहरुले आफ्नो क्षमता बढाएर मागको वृद्धिलाई सम्बोधन गर्ने कोशिस गरे । बजारमा एकातिर नयाँ लगानीकर्ता आए भने अर्कोतिर उद्योगले आफ्नो क्षमता बढाए तर पुनर्निर्माणको काम सकिएपछि ठूला आयोजनाले गति लिन नसकेको र चलिरहेको आयोजना पनि सुस्त हुनुको साथै निजी उपयोगमा पनि कमी आएपछि सिमेन्ट उत्पादकहरु निरन्तर घाटामा परेर आफ्नो औद्योगिक अस्तित्व खतरामा परिरहेको अवस्थामा नेपालको सिमेन्ट दीर्घकालीन अर्थतन्त्रलाई फाइदा पु¥याउने गरी उत्पादन होस् भन्ने उद्योगीहरु चाहन्छन् ।

करिब पाँच सालपहिले स्थापित पाल्पा सिमेन्टले तीन साल अघिदेखि आफ्नो उत्पादन सुरु गरेको हो । उत्पादन सुरु गरेर बजारमा जानासाथ विश्वव्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा पाल्पा जिल्लाको माथगढी ७ रहबासमा आफ्नै चुनढुङ्गा खानी रहेको यस उद्योगले हरेक समस्याका बाबजुद गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भएको थियो । विभिन्न समस्या जस्तै विद्युत्, कच्चापदार्थ, अल्पकालीन नीतिनियम, आर्थिक, दक्ष प्रविधिको अभाव अप्रत्यक्ष कर र रोयल्टी, उच्च उत्पादन लागत आदिका बाबजुद नेपाली सिमेन्टले आफ्नै देशको चुनढुङ्गा प्रयोग गरेर गुणस्तरमा रत्तिभर सम्झौता नगरी जुन किसिमले निर्यात अवस्थामा आएको कम्पनीको भनाइ छ  । यसले केवल नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थतन्त्रलाई नै क्रियाशील बनाउँदै नेपाली उत्पादन पनि अन्तर्राष्ट्रिय बजारमा निर्यातयोग्य छन् भन्ने सन्देश जाने कम्पनीले जनाएको छ ।

यसैगरी सिमेन्टको सम्भाव्यतालाई मात्रै पनि सदुपयोग गरियो भने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न रोजगारी सृजना गर्न र विकासलाई गति दिन एवं निर्यातयोग्य वस्तुहरुको लामो खडेरी अन्त गर्न सकिन्छ भन्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x