Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत


काठमाडौं ।वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बिहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४औँ नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षको लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुने गरी एक अर्ब ५८ करोड १६ लाखको बजेट स्वीकृत गरेको छ । बोर्डले विशेषगरी नौवटा कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

बोर्डले अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण कार्यक्रम, अलपत्र कामदारहरूको उद्धार तथा राहत कार्यक्रम, निःशुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श, पुनः एकीकरण कार्यक्रम, नेपाली श्रमिकहरुको सामाजिक तथा स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रशिक्षण, अध्ययन तथा अनुसन्धान र सरोकारवालाहरुसँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धि गरी नौवटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा मन्त्री कुँवरले बोर्डबाट प्रवाह हुने सेवालाइ सरल, सहज र प्रविधिमैत्री बनाइ सुशासन प्रवद्र्धन गर्नका लागि पहल गर्ने बताए । अहिले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले थुप्रै समस्या भोगिरहेकाले उनीहरुका समस्यालाई पनि बोर्डले सम्बोधन गर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई मन्त्री कुँवरले आग्रह गरे । सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारीमा जाने कामदार र वैदेशिक रोजगारी व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस बोर्डको गठन भएको हो ।

बोर्डको नियमित कार्य सञ्चालन वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ । बोर्डको अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहन्छन् भने बोर्डमा उच्चपदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्यहरु छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x