Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्लास्टिकको झोलाको विकल्पमा जैविक झोला

प्लास्टिकको झोलाको विकल्पमा जैविक झोला


काठमाडौं । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा आउने भएको छ । व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायोब्याग्स नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेको हो ।

कम्पनीले मकैको स्टार्चबाट झोला बनाएको हो । करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् । मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए । उद्योगमा एक दर्जन स्थानीय युवाहरुलाई रोजगारी समेत दिएका र पोखरामा उत्पादन बिक्रीवितरण गर्न डिलर समेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए । अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए । ‘प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्याग्स नेपाल प्रालि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले भने ।

‘मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बाल्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो’, उनले भने । उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए । उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै एक किलो, दुई किलो, पाँच किलो र १० किलो क्षमताका जैविक झोला उत्पादन भइरहेको छ । मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्ने उनले बताए । व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेको बताए । उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खोजबिन गरेको बताउँछन् । प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ ।

‘मानव जातिले प्रत्येक वर्ष छ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन । जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ’, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ । त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो’, उनले भने । उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा जोड दिए । सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी वेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ । यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पको रुपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको वैजूको तर्क छ ।

‘जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्वर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन। यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा बिरुवालाई कुनै हानि/नोक्सानी गर्दैन । उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ। बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ ।’ उनका अनुसार बायो ब्याग सामान्य प्लास्टिकका झोलाभन्दा डेढ गुणा महंगो छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x