Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङले नेपालमा टेलिभिजन उद्योगको स्थापना गर्ने

सामसङले नेपालमा टेलिभिजन उद्योगको स्थापना गर्ने


काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले आफ्नो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधिअनुसार बुधबार एक कार्यक्रमका बीच नवलपरासीमा कारखानाको शिलान्यास गरिएको छ ।

नेपाल सरकारको स्थानीय उत्पादन क्षमताहरु वृद्धि गर्ने नीतिबमोजिम यो नयाँ कारखानाको स्थापना गरिएको हो । यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको सुरुवात गर्ने बताइएको छ । साथै यसले स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने वताईएको छ ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । उद्योग शिलान्यास कार्यक्रममा सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले कम्पनीको लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलईडी टिभी कारखाना नेपाली जनताप्रतिको कम्पनीको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरुप्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतीक भएको बताए ।

कार्यक्रममा गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्धनिर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोशेढुङ्गा साबित हुने बताए । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्वबजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने उनको भनाइ छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो । हाल देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदारमार्फत नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेब र स्मार्ट फोनहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।

नेपालमा पाँच सयभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत सामसङले सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्क, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही, दक्षिण कोरीयाका राजदूत पार्क चोङ सुकलगायतको उपस्थिति थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x