Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदार्चुलाको छाङरुमा फोरजी सेवा सुरु

दार्चुलाको छाङरुमा फोरजी सेवा सुरु


काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवाको शुभारम्भ गरेको छ । त्रिदेशीय सिमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ ।

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेसनबाट व्यास गाउँपालिकाको ब्रह्मलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । अब छाङरुमा रहेका करिब एक सय २० जति घरधूरी र सात सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब चार हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच पुगेको टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार टेलिकमले सेवा सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x