पहिलो ग्रिन हाइड्रोजन समिट असोज अन्तिम साता
काठमाडौं । असोज अन्तिम साता नेपालमै पहिलोपटक ‘नेपाल ग्रिन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ग्रिन हाइड्रोजन समिट हुनलागेको हो ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते हरित हाइड्रोजनसम्बन्धी बृहत् सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रिन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टी काठमाडौंमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन: पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पु-याउने लक्ष्य सम्मेलनले लिएको छ ।
पत्रकार सम्मेलनमा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष एवं एनआरएनका पूर्वअध्यक्ष शेष घलेले विश्वमै वातावरणीय र आर्थिक रुपले बलियो विकल्पका रुपमा देखा परेको हाइड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भाव्य बनाउने बहस गर्न समिट आयोजना गरिएको जानकारी दिए । हरित हाइड्रोजन उत्पादनमा सरकारले अब प्रस्ट भिजन बनाएर निजी क्षेत्रलाई पनि अग्रसर बन्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । यस्तै ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले सम्मेलनमा हाइड्रोजन उत्पादनका सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभव हालसम्मको ज्ञान र प्रविधि नेपालमा गर्नुपर्ने नीतिगत तथा अन्य व्यवस्थाका विषयमा गम्भीर मन्थन हुने जानकारी दिइन् । जलस्रोतको अपार सम्भावनालाई हाइड्रोजन उत्पादनमा पनि उपयोग गरी वातावरण, जनस्वास्थ्य, निर्यात व्यापारको सुधारका लागि पनि उपयोगमा ल्याउन सबै सरोकारवाला लाग्न जरुरी रहेको उनको भनाइ थियो ।
त्यस्तै विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुसल गुरुङले सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए । ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताए ।
नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन, हरित एमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने आयोजकले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी पनि दिनेछन् । पत्रकार सम्मेलनमा आयोजकले दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायुमैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने ऊर्जाको सहज प्रसारणसम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने पनि सम्मेलनको उद्देश्य रहेको जानकारी गराएको थियो ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रुपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा आयोजकको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनले जलविद्युत्को प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यसबाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया