Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्वदेशी ओटीटीमा बढ्दै छन् दर्शक

स्वदेशी ओटीटीमा बढ्दै छन् दर्शक


काठमाडौं । ओटीटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटीटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढे्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए ।

नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताए । ‘हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ’, उनले भने, ‘अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।’

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन बढाउन थालेका हौँ’, उनले भने ।

गत कात्तिक २४ मा एपमा रिलिज भएको ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रयोगकर्ता बढाउनाका साथै एक्टिभ पनि गरिएको प्रमुख कार्यकारी अधिकृत खरेलले बताए । ‘हाम्रो ५० हजारभन्दा बढी प्रयोगकर्ता बढेको छ भने सक्रिय हुनेको संख्या धेरै भएर सर्भर नै क्याससमेत भएको थियो । यो फिल्मको आम्दानी कुनै युट्युबले दिनेभन्दा बढी छ । कुनै समय एक सय दर्शक नपाइने एपमा केही समययता दैनिक एक हजारको हाराहारीमा फिल्म हेरिरहनुभएको छ’, उनले भने ।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम रहेको बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको उनको भनाइ थियो । ‘हामीले पाइरेसी रोक्ने अनेक सुरक्षा अपनाएका हुन्छौँ तर पाइरेसी गर्नेलाई कडा कारवाही नभएसम्म कन्टेन सुरक्षित हुँदैनन्’, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पु-याइरहेको छ ।

अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको र पाइरेसी गर्नेलाई सहजै पत्ता लगाउन सकिने बताए । ‘पाइरेसीसम्बन्धी शिक्षाको कमीले नै यस्तो भइरहेको छ । पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ’, उनले भने ।

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले गरेको कमाइको विवरण र अन्य केही नयाँ फिल्म रिलिजबारे छिट्टै जानकारी गराउने सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत खरेलले जानकारी दिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x