Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन


काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्वचयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३औँ साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्विरोध भएका छन् ।

संघको सदस्यमा दिल विक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यक मान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्विरोध भएका हुन् । निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप तीन जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ ।  संघको साधारणसभालाई सम्बोधन गर्दै काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन् ।

कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाइले फर्निचरका उत्पादन ओसारपसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए । महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो । संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट वञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए । टेण्डरमा सहभागी हुनबाट वञ्चित गराइँदा कच्चा पदार्थको अभावमा फर्निचर उद्योगहरु समस्यामा पर्ने र अर्कोतर्फ वनजंगलमा काठ खेर जाने अवस्था बनेको बताए ।संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक ब्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए ।

विद्यमान कानुनहरु समयसापेक्ष रुपमा संशोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावरको उचित सदुपयोग हुन नसकेको उनको भनाइ थियो । वैज्ञानिकीकरण बजारीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको साधारणसभाका अन्य वक्ताहरुले राखेका थिए । अनौपचारिक रुपमा फर्निचर व्यवसाय गरिरहेकाहरुलाई दर्ता भएर कानुनी रुपमा व्यवसाय सञ्चालन गर्न पनि उनीहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेश अग्रवालसहित संघलाई स्थापित गर्न योगदान पु-याउनेहरुलाई सम्मान गरिएको थियो । संघमा दुई सय आजीवन र चार सय साधारण सदस्य गरी छ सय फर्निचर व्यवसायी आबद्ध छन् । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x