Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएफवान सफ्ट २०औँ वर्षमा प्रवेश

एफवान सफ्ट २०औँ वर्षमा प्रवेश


काठमाडौं । प्रविधिमार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औँ वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पु-याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो ।

१९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ । सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोनजस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको समेत विकास गरेको छ ।

कम्पनीमा हाल एक हजार दुई सयभन्दा बढी दक्ष जनशक्तिले रोजगारी पाएका छन् । यो २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पु-याउन ठूलो भूमिका खेलेको छ । २०औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी अझै सहज हुने गरी बनाउने बताए । यस्तै डिजिटल नेपाल बनाउँदै इकोनोमीलाई नै डिजिटलाइज गरी देशको जीडीपीमा ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेको उल्लेख गरे ।

एफवान सफ्ट ग्रुपअन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिकाजस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् । नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड ५० लाखभन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग समेत गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया