Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्माण उपकरण आगजनी गर्नेलाई कारबाही गर्न सरकार गम्भीर नभएको गुनासो

निर्माण उपकरण आगजनी गर्नेलाई कारबाही गर्न सरकार गम्भीर नभएको गुनासो


काठमाडौं, चैत ६
पछिल्लो चरण देशका विभिन्न क्षेत्रमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहले शृंखलाबद्ध रुपमा आगजनी गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण उपकरणमा निरन्तर आगजनी हुँदा समेत सरकारले दोषीलाई कारबाही गर्न चासो नदेखाएको महासंघले गुनासो गरेको छ । महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक–पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइए पनि सम्बन्धित निकायले दोषी पहिचान गरी कारबाही गर्न चासो नदिएको बताएका हुन् ।

आगजनीका घटना दिनप्रतिदिन बढ्दै गईरहेकोले निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित भएको महासंघले जनाएको छ । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजनाअन्तर्गत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी गरिएको छ । त्यस्तै दानबहादुर खड्का सञ्चालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएको छ ।

उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ । विगतमा यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ ।

महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न गृह प्रशासनसमक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायीसहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ । व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरुमाथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x