Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपहिलो पटक नेपाली महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

पहिलो पटक नेपाली महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान


काठमाडौं । नेपाल वायुसेवा निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका छन् । पाइलटद्वय भावना गिरी पन्त र को–पाइलट सृृजना राउतको टोलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार निगमको उडान नम्बर आरए३२० दुवई–काठमाडौं उडान सम्पूर्ण महिला चालकदलका सदस्यहरुको टिमले बुधबार काठमाडौंमा सुरक्षित अवतरण गरेको हो । यो उडानका सबै क्रू–मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालकदलका सदस्यहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेका थिए । उक्त उडानमा कमाण्डर पाइलट पन्त, को–पाइलट रावत, आइएफएस बास्ना राना, फ्लाइट पर्सन अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी. र अनिशा प्रजापति रहेका थिए ।

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् । पर्यटनमन्त्री किराँतीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए । महिला पाइलट टोलीले फागुन २१ गते ककपिट सम्हालेर काठमाडौं–दुवई सुरक्षित उडान गरेका थिए । सोही उडान बुधबार दुबईबाट पुनः काठमाडौं फर्किएको हो ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । हाल निगममा कुल नौ जना महिला पाइलट छन् । जसमध्ये एक जना ए३३०, चार जना ए३२० र चार जना आन्तरिक उडानका विमानमा कार्यरत छन् । यसैगरी निगममा कार्यरत १४५ क्याबिन क्रुमध्ये ९६ जना महिला क्याबिन क्रु रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया