Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीपछिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड

जीपछिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड निर्माण व्यवसायी जीपछिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । एघारौँ एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गरेका हुन् । यस्तै कालिका कन्स्ट्रक्सनले दुई महत्वपूर्ण विधामा अवार्ड पाएको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो । कालिका कन्स्ट्रक्सनको अवार्ड कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले ग्रहण गरेका थिए । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत जय विष्णु निर्माण सेवाले अवार्ड हात पारेको छ ।

यस्तै ए क्लासतर्फ नै उत्कृष्ट काम गरेको कम्पनीतर्फ भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि भक्तपुरले गोल्ड, समानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेशनल बिल्डर्स् प्रालिले ब्रोन्ज अवार्ड जितेका छन् । बी क्लासतर्फ यही विधामा सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिले गोल्ड, एसएल कन्स्ट्रक्सन प्रालिले सिल्भर अवार्ड हात पारे । सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्सन प्रालि कञ्चनपुरले गोल्ड र शिवालय बिल्डर्स् प्रालि काभ्रेले सिल्भर अवार्ड जितेको छ ।

कोशी प्रदेशबाट क्लास डीतर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो । क्लास डीमा बागमती प्रदेशबाट तेज कन्स्ट्रक्सन, गण्डकी प्रदेशबाट जीएस इन्जिनियरिङ, कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पारेका छन् । उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघहरूमध्ये तराईबाट कैलाली, पहाडबाट कास्की र हिमालबाट सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड बागमती प्रदेशले पायो भने उत्कृष्ट महिला निर्माण व्यवसायीमा एसएल कन्स्ट्रक्सनकी गीता शाहीले अवार्ड जितिन् । यस्तै उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रालिले पायो भने कन्स्ट्रक्सन सेक्टर एक्सिलेन्स इन्जिनियर अवार्ड इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरिएको थियो ।

यस्तै मस्ट सपोर्टिभ स्पोनसरको अवार्ड एमएडब्लु अर्थ मुभर्स प्रालि (जेसीबी)लाई प्रदान गरिएको महासंघले जनाएको छ । यसैगरी इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका निर्माण व्यवसायीका सन्ततिहरू प्रगति शाह, जेनिशा महर्जन, रविकान्त शाह र आसुतोष दासलाई पनि अवार्ड प्रदान गरिएको थियो । महासंघ सचिवालयमा कार्यरत न्युच्छेमाया तुण्डकारलाई पनि अवार्ड प्रदान गरिएको महासंघले जनाएको छ । अवार्डका लागि वरिष्ठ प्राविधि विज्ञ प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा महासंघले जुरी कमिटी गठन गरेको थियो । महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित भएको बताए । अवार्ड कार्यक्रम संयोजक समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया