Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्थतन्त्रको समस्या समाधानका लागि महासंघ र परिसंघको ऐक्यबद्धता

अर्थतन्त्रको समस्या समाधानका लागि महासंघ र परिसंघको ऐक्यबद्धता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता जनाएका छन् । परिसंघले महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णु अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका थिए । उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए । एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै उनले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए । निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने उनले बताए । परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरुसहित सरकारलाई सुझाउनुपर्ने बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समस्या समाधानका लागि समान समाधानका उपायहरु खोज्नुपर्ने बताए । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्स्ना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरुलाई बधाइ दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया