Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुलमा कटौती

टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुलमा कटौती


काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरमा उल्लेख्य कटौती गर्ने भएको छ । मे १७ मा मनाइने ‘आईटीयू डे’को अवसरमा बुधबारदेखि लागू हुनेगरी नयाँ महसुल दर कायम हुने भएको हो ।

नेपाल टेलिकमको प्रि–पेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा सस्तो दरमा रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट सात रुपैयाँ शुल्क लाग्ने छ । त्यसैगरी, नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट सात रुपैयाँ लाग्नेछ भने एसएमएस गर्दा प्रतिएसएमएस पनि सात रुपैयाँ नै लाग्नेछ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ । त्यसैगरी, थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्ने गरेको छ । त्यसैगरी, आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपैयाँ लाग्नेछ । हाल कुनै नम्बरमा कल गर्दा एक सय ३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रतिएसएमएस ३४ रुपैयाँ लाग्छ ।

त्यसैगरी, डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रतिएमबी करिब पाँच रुपैयाँ मात्र लाग्ने छ । अन्य देशमा जाँदा/रहँदासमेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया