Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले नेपाललाई कुनै रकम तिर्न बाँकी नरहेको आजियाटाको दाबी

एनसेलले नेपाललाई कुनै रकम तिर्न बाँकी नरहेको आजियाटाको दाबी


काठमाडौं । इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) को निर्णय अनुसार आजियाटा इन्भेस्टमेन्टस् लिमिटेड (आजियाटा यूके) र एनसेल आजियाटा लिमिटेड (एनसेल) ले नेपाल सरकारलाई कुनै पनि रकम तिर्न बाँकी नरहेको मातृ कम्पनी आजियाटा ग्रुप बरहादले दाबी गरेको छ ।

आजियाटाले सोमबार एक विज्ञेप्ती जारी गर्दै आईसीएसआईडीले आफ्नो मध्यस्थता कारबाही सम्बन्धी दिएको निर्णय स्वीकार्य भएको र उक्त निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले नेपाललाई कुनै रकम तिर्न बाँकी नरहेको दाबी गरेको हो । आजियाटा यूके र एनसेलले आफूहरूले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन सन् २०१९ मा आईसीएसआईडीमा निवेदन दिएका थिए ।

आजियाटा युकेले एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रूपमा खरिद गर्दा नेपाल सरकारले पुँजीगत लाभकर लिने विषय ग्रेट ब्रिटेन तथा उत्तरी आयरल्याण्ड र नेपाल सरकारबीच २०४९ फागुन १९ मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौताको विरुद्धमा भएको उनीहरुको दाबी थियो । आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले २०८० जेठ २६ गते आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको थियो । न्यायाधिकरणले दिएको निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ ।

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिएको छ । ‘यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ’ आजियाटाले भनेको छ, ‘यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन ।’ न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दै यसका बारेमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको र यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिने आजियाटाले जनाएको छ ।

आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पु¥याएको विज्ञेप्तीमा उल्लेख छ । ‘एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत २ खर्ब ८३ अर्ब रुपैयाँ योगदान गरेको छ’, विज्ञेप्तीमा भनिएका छ, ‘एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ ।’ यस्तै शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया