Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपशुपन्छी बीमाको १० वर्षे अवधिकोे समीक्षा आवश्यक

पशुपन्छी बीमाको १० वर्षे अवधिकोे समीक्षा आवश्यक


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले वास्तविक किसानले समस्या भोग्न नपर्ने गरी बीमाको कार्यविधि बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यमान समस्या समाधान गर्नेगरी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नुपर्नेमा जोड दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तररूपमा निकासा हुँदै जाने स्पष्ट गर्दै कृषि बीमालेख निरन्तर जारी गर्न, नियम सङ्गतरूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा अनुदानबाट लक्षित वर्गले लाभ पाए/नपाएको बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्दै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत वर्ग, साना किसान एवम् लक्षित वर्गलाई लाभ पुग्नेगरी कृषि बीमा अनुदानको व्यवस्था हुन सके त्यसको प्रभावकारिता बढ्ने बताए ।

अध्यक्ष सिलवालले भने, ‘कृषि तथा पशुपन्छी बीमाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र गरिबी न्यूनीकरणमा सहयोग पु¥याउँछ । उधारो बीमा गर्न नपाइने भएकाले त्यसलाई ध्यानमा राखी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान रकम निकासा हुने व्यवस्था गर्नुपर्छ । सरकारले कामको प्रकृतिअनुसारको जिम्मेवारी सम्बन्धित निकायलाई दिनुपर्छ । हाल जोखिम बढ्दै गएकाले कृषि बीमालाई दिगो बनाउन रिप्राइसिङ्ग गर्नु जरूरी छ । स्थानीय तहले कृषि बीमामा अनुदान थप गर्नुभन्दा उक्त रकम बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरे बीमाको पहुँच विस्तारमा सहयोग पुग्छ ।’

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३१ हजार चार सय १६ कृषि तथा पशुपन्छी बीमा दाबी फछ्र्यौट भई एक अर्ब ४२ करोड ८३ लाख ८१ हजार बराबरको दाबी भुक्तानी भएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाअन्तर्गत पशुधन, माछा र पन्छी बीमालेख संशोधनको अन्तिम चरणमा पुगेको बताए । दलहन, स्याउ, ओखर तथा आँपखेती बीमालेखहरू जारी हुने क्रममा रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमासम्बन्धी व्यवस्थाबारे प्रस्तुति दिँदै नमुनाका रूपमा मौसम सूचकाङ्क र बाढी सूचकाङ्कमा आधारित बीमाको सुरूवात गरिएको जानकारी दिए ।

कार्यक्रममा कृषि विभाग, पशुसेवा विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, विभिन्न मन्त्रालयका सहसचिव, विभिन्न निकाय तथा संस्थाका पदाधिकारी, नेपाल बीमक सङ्घका अध्यक्ष, कृषकहरू, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया