Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको बोनस सेयर पारित

नागरिक लगानी कोषको बोनस सेयर पारित


काठमाडौं । नागरिक लगानी कोषको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले २५ प्रतिशत बोनस सेयर र एक दशमलव ३१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा व्यक्त गरे ।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरू, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरू, कोषमा आबद्ध सहभागीहरूलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवम् पुँजीबजारका विभिन्न औजारहरूमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरूको बारेमा जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवम् चुनौतीलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिए । साथै, कोषको कारोबारलाई क्रमशः सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरूलाई विस्तार गरिनेमा पनि उनले जोड दिए । साधारणसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब १२ अर्ब ६४ करोड ७३ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ कोषले काम गरिरहेको बताएको छ । त्यस्ता नागरिकको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्नेतर्फ काम भइरहेको पनि उनले जानकारी दिए । सभामा बैंक तथा वित्तीय संस्थाको समूहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित हुने भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया