Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूले हरित कर्जा दिने

विकास बैंकहरूले हरित कर्जा दिने


काठमाडौं । विकास बैंकहरूले उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले दिगो विकासमा योगदान दिनको लागि हरित निक्षेप योजना र हरित कर्जा योजना सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।

सो निर्णयअनुसार विकास बैंकहरूले कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार÷रोपवे, विद्युतीय सवारी र फोहोर पानी प्रशोधन गर्ने उद्यमजस्ता शीर्षकमा निक्षेप तथा कर्जा योजना ल्याउने निर्णय गरेको एसोसिएसनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिन ‘हरित कर्जा योजना’ ल्याउने निर्णय भएको पनि एसोसिएसनले जनाएको छ ।

यो योजनामा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा शून्य दशमलव २५ प्रतिशत बढी ब्याज प्रदान गर्ने र यो योजनामा अन्य कर्जाको भन्दा शून्य दशमलव २५ प्रतिशतले कम ब्याज लिने नीति पनि लिन लागिएको एसोसिएसनले जनाएको छ । सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रोडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि एसोसियनले गरेको छ । तर कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया