Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगभर्नर अधिकारी र सीबीफिनबीच छलफल

गभर्नर अधिकारी र सीबीफिनबीच छलफल


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेट गरेको छ । मंगलबार भएको भेटमा समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक एवम् दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा छलफल भएको परिसंघले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएपनि आर्थिक क्रियाकलापहरू अपेक्षितरूपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको परिसंघको भनाइ छ । छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको देखिए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए ।

त्यसैगरी अध्यक्ष गोल्यानले सीबीफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरूनामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरसमक्ष हस्तान्तरण गरे । विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सीबीफिनले पेश गरेका सुझावहरूको औचित्य, आवश्यकता र महत्वलाई हृदयङ्गम गरी सोअनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे । भेटमा गभर्नर अधिकारीले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किँदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्कनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए । राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तङ्ग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औँल्याए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया