Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन’

‘राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन’


काठमाडौं । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकीकृत निर्देशनले पुँजीबजारलाई केही हदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकीकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ, त्यसले लगानीकर्ताको समस्या केही हदसम्म सुन्ने र बुझ्ने काम भयो भन्ने ठानेका छौँ’, एसोसिएसनले गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले भने, ‘अबका दिनका हामीले एक–अर्कालाई दोषारोपणभन्दा पनि सकारात्मक सन्देश दिएर अघि बढ्नु जरुरी छ ।’

नेपालमा सेयरबजार र घरजग्गा कारोबारीबीच अन्तरसम्बन्ध रहेको र राष्ट्र बैंकको नीतिले घरजग्गा धितो राखेर कर्जा लिन पाउने सीमा बढाउँदा समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको धारणा थियो । यसैगरी राष्ट्र बैंकले एकै प्रकृतिको कर्जा तथा सापटीको ब्याजअन्तर बढीमा दुई प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्था गर्दा आगामी दिनमा कर्जाको ब्याज सस्तो हुनगई सेयरबजारका लगानीकर्तालाई उच्च ब्याजको पीडाबाट राहत पुग्ने बताए । ‘यसअघि बैंकहरूले राष्ट्र बैंकको नीतिअनुसार एउटै प्रकृतिको कर्जामा पाँच प्रतिशत विन्दुसम्म फरक गरेर ब्याज लिइरहेका थिए ।’

उनले भने, ‘उक्त नीतिले अबका दिनमा सेयरधितोमा प्रवाह हुने कर्जाको पनि ब्याज घट्नेछ । तसर्थ पुँजीबजार सुधारका लागि नियामकको विरोध मात्रै होइन सकारात्मक सोच लिएर अघि बढ्न सकेमा बजारको विकास र वृद्धि हुने विश्वास छ ।’ तर, अहिले बजारमा उच्चरूपमा सप्लाई बढ्दा नकारात्मक सन्देश गएको उनको तर्क छ । ‘अर्थशास्त्रको सिद्धान्तअनुसार बजारले गति लिन माग र पूर्तिको नियम लागू हुनुपर्छ’, उनले भने, ‘तर पछिल्लो समय उच्चरूपमा आईपीओ आउँदा सप्लाइतर्फ उच्च बढ्यो माग सिर्जना हुन सकेन, जसको नकारात्मक असर अहिले बजारमा देखियो ।’ अबका दिनमा बजारमा सप्लाइ मात्रै बढाउनुभन्दा पनि माग बढाउनेतर्फ नियामक निकायले ध्यान दिनुपर्ने उनको तर्क छ । यसैगरी स्वदेशी तथा विदेशी पुँजी आकर्षित गरी ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको सञ्चालनका लागि आवश्यक पुँजीको दीर्घकालीन व्यवस्थापन पुँजीबजारबाट गर्नका लागि सहज हुनेहुँदा पुँजीबजारको विकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो । तथ्याङ्कलाई नै आधारका मन्दा पछिल्लो विवरणअनुसार हितग्राही खाता (डिम्याट) खोल्नेको संख्या करिब ५९ लाखभन्दा बढी रहेको अहिले सेयरबजारमा धेरै नेपालीहरू आबद्ध रहेकाले यसलाई अबका दिनका सकारात्मक सन्देश फैलाएर सुधारतर्फ लैजानुको विकल्प नरहेको समेत उनले बताए । अबका दिनमा इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केटको विकास गर्ने तथा मार्जिन ट्रेडिङसम्बन्धी नीति ल्याउन आवश्यक छ । साथै, तत्कालै सेटलमेन्ट फन्ड ल्याउनुपर्ने समेत उनले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया