Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत

एनआईसी एसिया बैंकको कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत


काठमाडौं । एनआईसी एसिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ । यो सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा तीन प्रतिशत प्रिमियम कायम गरिएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १० दशमलव सात प्रतिशत रहेकोमा त्यसमा तीन प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३ दशमलव सात प्रतिशत कायम गरिएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरूजस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जालगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उहाँहरूलाई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरूमध्येको बैंक हो । बैंकले हाल मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ५६ वटा एटीएम, एक सय ११ वटा विस्तारित काउन्टर एवम् ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया