Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविश्वसनीय ढंगले काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन

विश्वसनीय ढंगले काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन


काठमाडौं । नेपाल बीमा प्राधिकरणले विश्वसनीय ढङ्गले काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा यही मङ्सिर १७ गते काठमाडौंमा आयोजित नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँगको अन्तक्र्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘दुवै सङ्घले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमै समाधान गर्नुपर्छ, विद्यमान कानुनअनुसार काम गर्नुपर्छ, बीमा क्षेत्रलाई अघि बढाउन संयुक्तरूपमा अघि बढ्नुपर्छ ।’

बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेस गर्न निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, ‘बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँट हुनुपर्छ, दुवै सङ्घले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको शुल्क तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ ।’

अध्यक्ष सिलवालले भने, ‘दुवै सङ्घका पदाधिकारीहरूले नयाँ काम गर्नुप-यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुप-यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुप¥यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुने गरी डिजिटल फ्रेमवर्कमा जोडिनुप-यो, बीमक र सर्भेयरको कारणले दाबी फछ्र्यौटमा ढिलाई भयो भन्ने गुनासा आउनुभएन ।’

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर र बीमकसँग सम्बन्धित समस्या र समाधानसम्बन्धी प्रस्तुति गरेका थिए । यसैगरी, नेपाल बीमक सङ्घका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर सङ्घका अध्यक्ष मोहन पुरूष ढकालले बीमा सर्भेयर र बीमकबीचको सम्बन्ध, सर्भेयर फि तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षासम्बन्धी प्रस्तुति गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले सञ्चालन गरेको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया