Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७ औँ वार्षिक साधारणसभाबाट उनी सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् । छ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका छन् । साधारणसभाबाट संस्थापक सेयरधनीहरूमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको सपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरूलाई सपथ गराउने छन् ।

यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीलाई प्रस्ताव गरेको आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी जम्मा नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा छ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा छ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ९९ प्रतिशतले वृद्धि भई छ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा चार खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै तीन खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा तीन सय ५५ वटा शाखा सञ्जाल तथा तीनवटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब चार हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया