Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंक र अल अन्सारी एक्सचेन्जबीच साझेदारी

एनआईसी एसिया बैंक र अल अन्सारी एक्सचेन्जबीच साझेदारी


काठमाडौं । एनआईसी एसिया बैंक र अल अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ । रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई)मा रहँदै आएका नेपालीहरूले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एसिया बैंक र अल अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको हो ।

सम्झौताअनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका दुई सय ५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारको विश्वास रहेको छ । सम्झौता कार्यान्वयनमा आएपश्चात् अब अल अन्सारी एक्सचेन्जबाट एनआईसी एसिया बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने छ । भौतिकरूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटलरूपमा दरिलो उपस्थिति रहेको उक्त अल अन्सारी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एनआईसी एसिया बैंकका तीन सय ६० शाखा कार्यालय, एक सय ११ वटा विस्तारित काउन्टर, ५५ वटा शाखारहित बैंकिङ इकाइ र १६ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ । साथै, यस बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिट्यान्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया