Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभूकम्प प्रभावितलाई नेसनल लघुवित्तको सहयोग

भूकम्प प्रभावितलाई नेसनल लघुवित्तको सहयोग


काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपाले भूकम्प प्रभावितहरूका लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । मानवीय सहायताअन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

२०८० पुस १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि गाउँपालिकाको विपद् कोषमा चार लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बागचौर शाखाअन्तर्गत् वित्तीय संस्थामा आबद्ध छ सय ८१ जना सेवाग्राहीलाई राहतस्वरूप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी २०८० पौष १५ गते रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई चार लाख सहयोग गरेको छ । आठबीसकोट शाखाअन्तर्गत वित्तीय संस्थामा आबद्ध तीन सय ७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोही दिन सदरमुकामस्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरू दुई सय ५० जनालाई सात लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

दुई अलग–अलग कार्यक्रमका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसी र आठबीसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, वित्तीय संस्थाका कर्मचारीहरू,सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र नेसनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए ।

लघुवित्त विपन्न तथा गरिब समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उनीहरूको भनाइ थियो । नेसनल लघुवित्तले विपद्मा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको बताए ।यसका साथै आगामी दिनमा पनि दूरदराजमा रहेका विपन्न गरिब परिवारमा वित्तीय सेवा पु-याउन आग्रह समेत गरे । सोही अवसरमा नेसनल लघुवित्तका सीईओ रामबहादुर यादवले मानवीय सहायतामा सधैं नेसनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेका थिए । दुर्गम गाउँ बस्तीहरूमा आफ्ना सेवाग्राही सदस्यहरूलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको माध्यमबाट गरिबी न्यूनीकरणमा टेवा पुर्याउने सीईओ यादवले बताए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तिमा परेको सेवाग्राही सदस्यहरूलाई मानवीय सहायता गर्दै आएको छ ।

हाल नेसनल लघुवित्त देशका ७२ जिल्लामा दुई लाख २० हजार बढी सदस्यहरूबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ ।

वित्तीय संस्थाको पुँजी एक अर्ब आठ करोड, सदस्यहरूको बचत पाँच अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्ब बढी रहेको छ । त्यसकारण पनि संस्थाले वित्तीय आफ्ना सेवाग्राही सदस्यहरूलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको साथै वित्तीय साक्षरता, सिपमूलक तालिम, सामाजिक क्रियाकलाप र दैवीप्रकोप उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया