Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको साढे पाँच प्रतिशत नगद लाभांश

राष्ट्रिय वाणिज्य बैंकको साढे पाँच प्रतिशत नगद लाभांश


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न भएको साधारणसभाले पाँच दशमलव ५० प्रतिशत नगद लाभांशसहितको आव २०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन बिजनेस प्रोसेस रि–इन्जिनियरिङ सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवम् लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर–बैंकिङ्ग सम्पत्तिहरूको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्धरूपमा अगाडि बढाइएको बताए ।

साधारणसभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण राखेका थिए । उक्त टिप्पणी एवम् जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए ।

सभामा बैंक सञ्चालक समितिका सदस्यहरू बाबुराम सुवेदी, रोमिला ढकाल उप्रेती, सुशील घिमिरे, अनलराज भट्टराई, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल छत्कुलीको उपस्थिति रहेको थियो । साधारणसभामा चाटर्ड एकाउण्टेन्टहरू, बैंकका कानुनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्ष तथा पदाधिकारीहरूलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव हेमराज खरेलले सहजीकरण गरेका थिए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ८५ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, तीन सय वटा एटीएम र एक सय दुई वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया