Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ क्यापिटल र कैलाश हेलिकोप्टर सर्भिसेसबीच सम्झौता

मुक्तिनाथ क्यापिटल र कैलाश हेलिकोप्टर सर्भिसेसबीच सम्झौता


काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेस् लिमिटेडले आफ्नो जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरको तीन करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तीन करोड ५० लाख सेयर पुँजी बराबरको एक सय अंकित दरको तीन लाख ५० हजार कित्ता साधारण सेयर प्रचलित कानुनको अधिनमा रही सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले एयर बस कम्पनी फ्रान्सद्वारा निर्मित एएस तीन सय ५० को तीन वटा हेलिकोप्टरमार्फत उच्चस्तरीय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ महामारीको समय आव २०७६/७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ ।

कम्पनीले आव २०७९/२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । उक्त बोनस सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनस वितरणपश्चात् किताबी मूल्य एक सय ४६ रुपैयाँ २९ पैसा कायम रहेको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरूले पाँच वर्षभित्र पाँच थान हेलिकोप्टर पुर्याउनुपर्ने भनी जारी गरिएको नीतिलाई अनुशरण गर्दै पुँजी वृद्धि गरी सुरक्षा नीतिको पूर्णपालना गरी सन् २०२५ मा एक थान र सन् २०२७ मा एक थान गरी थप दुई थान हेलिकोप्टर सन् २०२७सम्ममा थप गरी कुल पाँच वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया