Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनकपुरधाम उपमहानगरपालिकासँग बीमा प्राधिकरणको छलफल

जनकपुरधाम उपमहानगरपालिकासँग बीमा प्राधिकरणको छलफल


काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमासम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।

प्रमुख साहले नागरिकहरूलाई आफ्नो जीवन, घर, सम्पत्ति, कृषिबाली र पशुपन्छीको बीमा गरेर आर्थिक सुरक्षण गर्न आग्रह गर्दैै दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपमहानगरपालिकाले राहत लागि छुट्याएको बजेटबाट न्यून आय भएका विपन्न वर्गको बीमा गर्ने व्यवस्था गर्न र उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको सुरूवात गर्न आग्रह गरे ।

अध्यक्ष सिलवालले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन गर्दै आएको छ, दाबी भुक्तानी नपाएमा प्राधिकरणमा उजुरी गर्न सकिन्छ, सबैले ढुक्क भएर बीमा गरौं ।’ अध्यक्ष सिलवालले बीमा क्षेत्र हेर्ने गरी सम्पर्क व्यक्ति तोक्न उपमहानगरपालिकालाई आग्रह गर्दै मधेश प्रदेशमा बाढी, आगलागीलगायतको जोखिम बढी हुने भएकाले घर, सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले मैथिली भाषामा कार्यक्रम सञ्चालन गर्दै बीमाको महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमा बजारको अवस्था, विद्यमान चुनौती, बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिकासम्बन्धी प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन आलटाल गर्ने गरेको, कतिपय बीमा कम्पनीले दाबी भुक्तानी दिन एक वर्षसम्म लगाउने गरेको, कम्पनीहरूले पटक–पटक नियम परिवर्तन गर्ने गरेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह, वडाध्यक्ष तथा सदस्य र कर्मचारी, नेपाली बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी, महिला समूह र अगुवा कृषकलगायत गरी करिब दुई सय ५० जनाको सहभागिता रहेको थियो ।

मधेश प्रदेशका अर्थमन्त्रीसँग बीमासम्बन्धी छलफल
मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवसँग मंगलबार बीमासम्बन्धी समसामयिक विषयमा छलफल भएको छ । त्यस अवसरमा मधेश प्रदेशमा बीमाको आवश्यकता, बीमा बजारको विद्यमान अवस्था, देखिएका चुनौती, बीमा क्षेत्रको विकास र पहुँच विस्तारमा प्रदेश सरकारको भूमिकालगायतका विषयमा छलफल भएको थियो । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गरिने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा बीमाको पहुँच न्यून रहेको उल्लेख गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमालाई समावेश गरी बीमा क्षेत्रको विकास र एवम् विस्तारलाई प्राथमिकता दिन आग्रह गरे । त्यस अवसरमा मधेश प्रदेश सचिव सुवास चन्द्र शिवाकोटी, नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लाल, प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मालगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया